पत्रकार महासंघले मेयरलाई भन्यो-सार्वजनिक रुपमा माफी माग

वेलकम खबर
जेष्ठ २२, २०७६

काठमाडौं, २२ जेठ । नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ ।

यही जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु,’ भनेर धम्की दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ ।

महासंघले घटनाको घोर भ्रर्त्सना गर्दै धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्न वातावरण बनाई यस्ता घटना नदोहोर्याउनेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै जेठ २१ गते राति पत्रकार महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर ९आशीष० राईलाई अज्ञात समूहले कार्यालयमा काम गरिरहेको अवस्थामा कुटपिट गर्दा उनको टाउकोमा गम्भीर चोट लागी धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । महासंघले उक्त घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन तथा पत्रकार राईको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*