कोशीको बजेट ४० अर्ब ४४ करोड

आइतबारको बिदा पुनरावलोकन गर्ने, तान्त्रिक अध्ययन केन्द्र स्थापना गर्ने पूर्वाधारमा जोड
वेलकम खबर
असार १, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३, ८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तुलनामा १२ दशमलव ७४ प्रतिशतले ठूलो आकारको बजेट ल्याउँदै प्रदेश सरकारले पूर्वाधार विकास, सेवा प्रवाह तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ, वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ तथा वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ छुट्याइएको जानकारी दिनुभयो । बजेट संरचनाले विकास निर्माण तथा पूर्वाधार विस्तारमा केन्द्रित हुने संकेत गरेको छ । कुल बजेटमध्ये पुँजीगत खर्चको हिस्सा सबैभन्दा ठूलो रहेको छ, जसले प्रदेश सरकारको विकासमुखी प्राथमिकतालाई प्रतिबिम्बित गरेको छ।

बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनबारे जानकारी दिँदै मन्त्री लिङ्थेपले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । यस्तै, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमार्फत ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ तथा विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी रोयल्टी बाँडफाँडबाट ४१ करोड रुपैयाँ, सोझै भुक्तानी प्रणालीमार्फत २० करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बजेट स्रोतको बाँकी अपुग रकम करिब ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने सरकारको योजना छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक वृद्धिदर बढाउने, उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने तथा विकास आयोजनाको कार्यान्वयन क्षमता सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड

कोशी प्रदेश सरकारले कानून निर्माण, शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा ९४ करोड बजेट विनियोजन गरेको छ । लिङ्थेपले झापाको मेचिनगर र मोरङको रंगेलीमा रहेको कोल्ड सेन्टर संचालन गर्ने, केन्द्रसँगको समन्वयमा प्रदेशबाटै सवारी साधनको लाइसेन्स छाप्ने व्यवस्था मिलाउने बताउनुभयो । यस्तै संचार क्षेत्रको लागि ४ करोड, धनकुटाको चौविसेमा आइटि पार्क निर्माण गर्न २ करोड, प्रदेशका ५ हजार युवालाई तालिम दिने र म अघि बढ्छु कार्यक्रमलाई २ करोड विनियोजन गरेको बताउनुभयो।

खानेपानी, सिंचाई तथा उर्जामा ६ अर्ब २८ करोड

सरकारले खोनपानी, सिंचाई तथा उर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । खानेपानीतर्फ बहुवर्षे खानेपानीको लागि २४ करोड, २ सय खानेपानी आयोजनाको लागि २७ करोड, प्रदेशका ५६ निर्वाचन क्षेत्रमध्ये ३८ क्षेत्रमा प्रति क्षेत्रमा १ करोडको खानेपानी आयोजना र १८ निर्वाचन क्षेत्रमा जलउत्पन्न र खानेपानीसँग सम्बन्धीत १ करोडका आयोजना गरेर ५६ करोड विनियोजन गरिएको छ । यस्तै जल उत्पन्न प्रकोप नियन्त्रण र विपद व्यवस्थापनको लागि ६२ करोड ५३ लाख विनियोजन गरिएको छ ।

शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड

सरकारले शिक्षा र सामाजिक क्षेत्रमा ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सक्षम छोरी कार्यक्रमको लागि ७ करोड, अपाङ्गता रोकथाम तथा संरक्षणको लागि १६ करोड ५० लाख, बौद्धिक अपाङ्गता तथा अटिजम बालबालिकाका लागि १ करोड, सांकेतिक भाषाको अधिकार प्रत्याभूति गर्न १६ करोड, सांकेतिक भाषा स्रोत कक्षाको लागि १ करोड, १ सय वडा विद्यालयमा डिजिटल बोर्डबाट पढाइ सुरु गर्न १० करोड विनियोजन गरिएको छ । यस्तै ज्योतिस शास्त्र, वास्तु तथा तान्त्रिक विधिको अध्ययन गरिने बताउनुभयो । मनमोहन प्राविधिक विश्वविद्यालयका लागि २० करोड बजेट विनियोजन गरेको प्रदेश सरकारले धनकुटामा चिकित्सा शास्त्र अध्ययन सुरु गर्ने घोषणा गरेको छ ।

प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि २३ करोड विनियोजन गरेको छ । वैजनाथ क्रिकेट रंगशालाको निर्माणको लागि ५ करोड, समुदायमा रहेका मौलिक ज्ञान, सिप र प्रविधि अनुसन्धान गर्न २७ करोड रुपैयाँ पनि विनियोजन गरेको छ ।

पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड
सरकारले पर्यटन वन तथा वातावरणको लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । लिङ्थेपले कोशी पर्यटन भ्रमण वर्षका लागि १२ करोड १२ लाख, पदमार्गमा आधारित पर्यटन प्रबद्र्धनलाई १२ करोड ७७ लाख विनियोजन गरेको बताउनुभयो ।

कृषि क्षेत्रलाई ६ अर्ब २८ करोड विनियोजन

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको हो। लिङ्थेपले कृषि क्षेत्रलाई प्रदेशको अर्थतन्त्रको मुख्य आधारको रूपमा विकास गरिने बताउनुभयो । मन्त्री लिङ्थेपले प्रस्तुत गरेको बजेटमा कृषिमा आत्मनिर्भर बन्न र कृषकहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिएको छ। विनियोजित ६ अर्ब २८ करोड रुपैयाँ मुख्यगरी कृषि पूर्वाधार, सिँचाइ, सहुलियतपूर्ण ऋण, बीउबिजन वितरण र बजार व्यवस्थापनमा खर्च गरिने उल्लेख छ।

सञ्चार प्रतिष्ठानलाई ४ करोड, म अघि बढ्छुलाई २ करोड

प्रदेश सरकारले सञ्चार क्षेत्रको काम गर्नेगरि गठन हुने प्रादेश सञ्चार प्रतिष्ठानको लागि ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले प्रादेशिक आमसञ्चार ऐन निर्माण गरेको भएपनि सञ्चार प्रतिष्ठान भने गठन गरिसकेको छैन । पत्रकारिता क्षेत्रसँग सम्बन्धित सबै काम गर्नेगरि प्रतिष्ठान गठन गर्ने सरकारले जनाएको छ । यस्तै, लागुऔषध दुव्र्यसन र युवा सचेतना कार्यक्रमको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको मन्त्री लिङ्थेपले जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको सो कार्यक्रम बजेट दुरुपयोग भएको भनेर आलोचना हुँदै आएको छ ।

कोशी सरकारले आइतबारको विदा पुनरावलोकन गर्ने

कोशी प्रदेश सरकारले संघीय सरकारको निर्णय अनुसार भइरहेको आइतबारको सार्वजनिक विदा पुनराबलोकन गर्ने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बिदुर लिङ्थेपले आज प्रदेशसभामा बजेट पेश गर्दै सो जानकारी दिनुभएको हो । सेवाको प्रभाबकारिता र आम नागरिकको सहजतालाई मध्यनजर गरेर आइतबारको विदा पुनराबलोकन गर्ने बजेट बक्तब्यमा उल्लेख छ ।

कोशी सरकाकरले तान्त्रिक अध्ययन केन्द्र स्थापना गर्ने
कोशी प्रदेश सरकारले तान्त्रिक अध्ययन अनुसन्धान गर्न केन्द्र स्थापना गर्ने भएको छ। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभा बैठकमा आर्थिक २०८३–८४ को बजेटमार्फत यस्तो जानकारी दिनु भएको हो । संस्कृति र परम्परालाई जगेर्ना गर्न भन्दै दक्षिण एसियाली तन्त्र, वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र सञ्चालन गर्ने बजेट बक्तब्यमा उल्लेख छ । उहाँले केन्द्र स्थापनाका लागि आवश्यक व्यवस्था गरिएको बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*