नेपालमा कोभिडको ओमिक्रोन उपभेरिएन्टको प्रकोप भेटियो

वेलकम खबर
साउन १४, २०८२

काठमाडौं।  नेपालमा सन् २०२५ को जुन महिनामा देशभरका विभिन्न भौगोलिक क्षेत्रहरूबाट सङ्कलन गरिएका ४४ वटा सार्स–कोभ–२ (कोरोना भाइरस) का नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरिएन्टको उपस्थिति देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार ती ४४ नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोनको जेएन.१ उपभेरिएन्ट, २९ वटा नमुनामा ओमिक्रोन एक्सएफजी उपभेरिएन्ट र बाँकी १४ वटा नमुनामा ओमिक्रोन एक्सएफजी.३ उपभेरिएन्ट पाइएको हो ।

प्रयोगशालाका सूचना अधिकृत सन्तोष सुबेदीका अनुसार, हाल पत्ता लागेका यी उपभेरिएन्टहरूमध्ये “एक्सएफजी” लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले यसको खतराको बारेमा सुष्म अनुगमनको सूचीमा राखेको छ । यसको अर्थ यो उपभेरिएन्टमा विशेष निगरानी आवश्यक मानिन्छ । हालसम्म यसले गम्भीर स्वास्थ्य संकट उत्पन्न गर्ने खालको जोखिम भने देखिएको छैन । तर सतर्कता भने अपनाउँनुपर्ने देखिन्छ ।

सुबेदीका अनुसार “ओमिक्रोनका यी उपप्रकारहरू हाल विश्वभर फैलिरहेका अन्य प्रकारहरूसँग मिल्दोजुल्दो छन् । नेपालमा पनि यिनै उपप्रकारहरू भेटिनु आश्चर्यजनक होइन । तर हामीले निगरानीलाई अझ कडाइ गर्नुपर्ने अवस्था भने छ ।”यो रिपोर्टले नेपालमा हाल देखिएको कोभिड–१९ को प्रचलन ओमिक्रोन भेरिएन्टमै सीमित रहेको स्पष्ट रूपमा देखाएको छ । वैज्ञानिकहरूका अनुसार, ओमिक्रोनका अधिकांश उपभेरिएन्टहरू तुलनात्मक रूपमा कम घातक भए तापनि अत्यधिक संक्रामक हुने सम्भावना बढी हुन्छ । यही विशेषताले गर्दा सङ्क्रमित सङ्ख्या चाँडै बढ्न सक्छ, जसले स्वास्थ्य सेवा प्रणालीमा दबाब पर्न सक्ने खतरा रहन्छ ।

हाल नेपालमा गम्भीर लक्षणसहितका कोभिड बिरामीको सङ्ख्या न्यून भए पनि स्वास्थ्य अधिकारीहरूले संक्रमण बढ्न सक्ने सम्भावनालाई औल्याईरहेका छन्  । विशेषगरी वृद्ध, दीर्घरोगी र खोप नलगाएका व्यक्तिहरू जोखिममा पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार, नियमित मास्कको प्रयोग, भिडभाडमा सावधानी, हात धुने बानी र आवश्यक भए खोप पुनः लगाउनेजस्ता उपायहरू अहिले पनि प्रभावकारी छन् ।यो नयाँ उपभेरियन्ट प्रमाणित भएसँगै नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले कोभिडको अनुगमनलाई निरन्तरता दिँदै आवश्यक परेमा परीक्षण र खोप अभियान पुनः सशक्त बनाउन सक्ने संकेत पनि दिएको छ ।यसैबीच, प्रयोगशालाले अगामी महिनाहरूमा समेत थप नमुनाको जिन सिक्वेन्सिङ गर्दै संक्रमणको प्रकृति र प्रवृत्तिबारे निरन्तर अध्ययन गर्ने जनाएको छ ।

नेपालमा महामारीपछि कोभिड संक्रमणको अवस्था तुलनात्मक रूपमा नियन्त्रणमा देखिए पनि उत्परिवर्तित भेरिएन्टहरूको निगरानी र सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।

 

नेपालमा कोभिड–१९ को इतिहास

नेपालमा कोभिड–१९ को पहिलो केस जनवरी २४, २०२० मा वुहानबाट फर्किएका एक विद्यार्थीमा पुष्टि भएको थियो । त्यसपछि संक्रमण विस्तार हुन थालेपछि सरकारले मार्च २४, २०२० देखि पहिलो पटक देशव्यापी लकडाउन लागू ग¥यो ।

सन् २०२१ मा डेल्टा भेरिएन्टको दोस्रो लहरले भयावह अवस्था ल्यायो । अस्पतालहरू भरिए, अक्सिजनको अभाव भयो, र मृत्यु सङ्ख्या तीव्र गतिमा बढ्यो । यसै क्रममा सरकारले खोप अभियान सुरू गर्दै स्वास्थ्यकर्मी, वृद्धवृद्धा, संचारकर्मी, राजनेता र जोखिम समूहलाई खोप लगायो ।

तेस्रो लहर सन् २०२२ को सुरुवातमा ओमिक्रोन भेरिएन्टसहित आयो, जुन अत्यधिक संक्रामक भए तापनि तुलनात्मक रूपमा कम घातक रह्यो ।सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले कोभिडलाई महामारी नभई नियमित संक्रमणको रूपमा हेर्न थाल्यो । नेपालमा पनि संक्रमण दर घट्दै गएको देखियो ।

हाल नेपालमा कोभिडका केही केसहरू ओमिक्रोनका नयाँ उपभेरिएन्ट (जस्तै एक्सएफजी उपभेरिएन्ट, जेएन १) देखिन्छन् । सङ्क्रमित सङ्ख्या कम भए तापनि स्वास्थ्य अधिकारीहरूले सचेत रहन आग्रह गरेका छन् ।नेपालमा कोभिड संक्रमितको कुल तथ्याङ्क (२०२५ सम्म) १० लाख भन्दामाथि  रहेको छ भने मृत्यु १२ हजार भन्दा बढीको भएको र २ करोड नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*