ओलाङ्चुङगोलाका छेतेनटासी कञ्चनजङ्घा चुचुरोमा
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका छेतेन टासी शेर्पाले कञ्चनजङ्घा हिमाल आरोहण गर्नुभएको छ । बुधबार अर्थात मे २० का दिन बिहान १२ बजेको समयमा शेर्पा कञ्चनजङ्घाको चुचुरोमा पुग्नुभएको हो ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शेर्पाले आठ हजार ५८६ मिटर उचाइ रहेको विश्वको तेस्रो तथा दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । शेर्पाले कञ्चनजङ्घाको सफल आरोहणसँगै कञ्चनजङ्घा चुचुरोमा गाउँपालिकाको झण्डा र लोगो (प्रतीक चिन्ह) फहराउनुभएको छ ।शेर्पाले चौथो पटक कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूका अनुसार यसपटक कञ्चनजङ्घा हिमाल आरोहण यात्रामा निस्किनुभएका शेर्पालाई गाउँपालिकाको लोगो अङ्कित झण्डा दिएर आरोहण सफलताको शुभकामनासहित पालिकाले बिदाइ गरेको थियो । इम्याजिन नेपालका अनुसार ओलाङ्चुङगोलाका शेर्पासहित सोही समयमा चार जनाले कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ । अन्य कञ्चनजङ्घा हिमाल आरोहण गर्नेमा दावा ग्यान्जे शेर्पा, बुद्धबहादुर गुरुङ र पाकिस्तानका सोहल शेहजाद रहनुभएको छ ।



















