ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
ताप्लेजुङ। ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय रहेको जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भए सँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाका जन्मेदेखि ११ महिना सम्मका एक हजार १२२, १२ महिनादेखि १५ महिनासम्मका ४७५, १६ महिनादेखि २३ महिनासम्मका ९४३ र २४ देखि ५९ महिनासम्मका ४ हजार २४६ गरि जम्मा ६ हजार ७८६ जना बालबालिकालाई खोप दिइएको छ ।
प्रमुख अतिथि मन्त्री लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । साथै उहाँहरूको प्रोत्साहन भत्ता वृद्धि गर्ने विषय आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरिने बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता घोषणा मात्र पर्याप्त नभई यसको दिगोपना कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।
मन्त्री लिम्बूले ताप्लेजुङ जिल्ला अस्पतालको भवन निर्माण तथा व्यवस्थापकीय सुधारमा प्रदेश सरकारको निरन्तर ध्यान रहेको उल्लेख गर्दै आवश्यक सामग्री, उपकरण तथा जनशक्तिको सूची मन्त्रालयमा पठाउन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय र सहज स्वास्थ्य सेवा नागरिकको पहुँचमा पु¥याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले ताप्लेजुङ जिल्ला अस्पतालमा सुशासन र सरसफाइ सुधार आवश्यक रहेको बताउनुभयो । यस्तै, प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री निर्मला तावाले अधुरा स्वास्थ्य संरचना निर्माण कार्यलाई पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङले पूर्ण खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजकहरूलाई सम्मान समेत गरिएको थियो ।

















