ताप्लेजुङ गोल्डकपमा बाइक पाउने गरी खेल प्रर्दशन गर्नुपर्ने

वेलकम खबर
साउन ९, २०८२

ताप्लेजुङ – तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो ।

लाखेजात्रा पर्वको असरमा भानुजन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी भएका आठ टिमभित्रबाट फाइनल चरणसम्म पुग्ने सर्वोत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको १ सय ५० सीसीको बाइक प्रदान गरिने छ । बाइकको कलर तथा अन्य मोडलको विषयमा कम्पनीसँग छलफल भइरहेको समितिका कोषाध्यक्ष शेर्पाको भनाइ छ ।

ताप्लेजुङमा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई बाइक प्रदान गर्ने यो आयोजकको पहिलो प्रयास रहेको छ । प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट उत्कृष्ट खेलाडीलाई मैदान प्रवेश गराउने तथा दर्शकको सङ्ख्या वृद्धि गर्ने लक्ष्यका साथ सर्वोत्कृष्ट खेलाडीलाई बाइकको व्यवस्था गरिएको समितिले जनाएको छ ।

एक सातासम्म जारी रहने प्रतियोगितामा आयोजक तथा अन्तर्राष्ट्रिय एकएक टीम सहित आठ टिमले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च ब्वाइज क्लब, पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमीलाई आमन्त्रण गरिएको छ । आयोजकका अनुसार गत वर्षको प्रतियोगिताको उपविजेता सलहेस बाहेक सबै नयाँ टिमलाई आमन्त्रण गरिएको छ ।प्रतियोगिताको उपाधि हात पार्ने टिमले नगद सात लाख दुई हजार बयासी रुपियाँ र उपविजेताले तीन लाख प्रचार हजार बयासी रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । गत वर्ष विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । यस वर्षको विजेतालाई २ लाख र उपविजेतालाई १ लाख रुपियाँ बढीको पुरस्कार राशि वृद्धि गरिएको छ । यस्तै विविध विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*