आठराई त्रिवेणीको नीति, कार्यक्रम र बजेट पारित (फोटो फिचर)
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभाबाट पारित गरेको छ ।
आठराई त्रिवेणी गाउँपालिकाको शनिवार (आज) बसेको गाउँसभाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको जनाएको हो । पालिका अध्यक्ष दिपेन पोमुले नीति, कार्यक्रम तथा बजेट पारित भएको जानकारी गराउँदै ऐतिहासिक प्रक्रियालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण गाउँसभा सदस्यहरू, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू तथा यस प्रक्रियामा खटिनुहुने सबै महानुभावप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान तथा कृतज्ञता व्यक्त गर्नु भएको छ ।

उहाँले सबैको दूरदृष्टि, जिम्मेवारीबोध, रचनात्मक सुझाव, आपसी समन्वय तथा विकास प्रतिको साझा प्रतिबद्धताले गाउँपालिकाको समृद्ध भविष्य निर्माण गर्ने बलियो आधार तयार गरेको उल्लेख गर्नु भएको छ ।
अध्यक्ष पोमुले भन्नु भएको छ पारित नीति, कार्यक्रम तथा बजेटले सुशासन, पारदर्शिता, उत्तरदायित्व, समावेशी विकास र जनअपेक्षाअनुरूप सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै समुन्नत आठराई त्रिवेणी निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेमा पूर्ण विश्वास लिएको बताउनुभयो । पालिका अध्यक्ष पोमुले हामी सबैको साझा उद्देश्य भनेको समृद्ध गाउँपालिका, गुणस्तरीय सेवा, दिगो विकास र नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो। यो लक्ष्य प्राप्तिका लागि आगामी दिनहरूमा पनि यही एकता, सहकार्य, समन्वय र समर्पण कायम रहने विश्वास समेत व्यक्त गर्नु भएको छ । उहाँले “साझा सोच, साझा प्रयास र साझा जिम्मेवारीबाट नै समृद्ध आठराई त्रिवेणीको सपना साकार हुने समेत दाबी गर्नुभयो ।
आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष ०८३ /८४ का लागि ५१ करोड ५८ लाख ६८ हजार १३४ रुपियाँको बजेट विनियोजन गरेको छ ।




















