तोक्मे डाँडामा धान नाच प्रतिमा (ताक्वाजङ या : सक्मादेन ) उद्घाटन

ताप्लेजुङ। किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा निर्मित धान नाच प्रतिमा (ताक्वाजङ या : सक्मादेन )को उद्घाटन गरिएको छ। याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम यक्तेनको प्रमुख आतिथ्यतामा बिहीबार उक्त प्रतिमाको उद्घाटन गरिएको हो।
लिम्बु जातिको ऐतिहासिक, सांस्कृतिक परम्परालाई जीवित राख्न र त्यस ठाउँको इतिहासलाई लोप हुन नदिन कियाचु इजरायलको आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुई महिला र दुई पुरुष धन नाचिरहेको प्रतिमा निर्माण गरिएको छ।५ फिट उचाइको पिलरमा रहेको प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ ),पाथिभरा डाँडा ( मुक्कुम्लुङ )को तस्बिर कोरिएको छ ।निर्माणका लागि स्थानीय कृतिमान मादेनको संयोजकत्वमा किराँत याक्थुङ चुङ्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्य निर्माण समिति गठन गरिएको थियो। उक्त समितिले भाद्र अन्तिमसम्म निर्माण सक्नेगरी काम सुरु गरेको भए तापनि केही ढिला गरी कार्य सम्पन्न गरेको हो।
कांशको चार या ःलाङ (धान नाच ) प्रतिमा बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव भएका मूर्तिकार पूर्ण वनेमसहित चार कालीगढ खटिएका थिए। उक्त धान नाच प्रतिमा पुरुषको ६ .५ र महिला ६ फिट उचाइमा निर्माण भएको छ। यसैबीच उक्त धान नाच प्रतिमाको उद्घाटनको अवसरमा आज राति राष्ट्रिय कलाकारहरूको साथमा भव्य संस्कृतिक कार्यक्रम समेत हुँदैछ। उक्त सांस्कृतिक कार्यक्रमको आकर्षणका रूपमा गायिका रुक्साना लिम्बु ,दिपा सुहाङ, नोगेन लिम्बु,पुष्पाञ्जली तिलिङ,सुनिता केदेम र सेमिहाङ सिङ्गक रहेका छन् ।