भिल्लारियलमाथि बार्सिलोनाको सहज जित, मेसीको असिष्टमा नयाँ रेकर्ड
काठमाडौँ। स्पेनिस ला लिगा लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ४–१ गोल अन्तरले जित हासिल गरेको छ। अवे मैदानमा भएको खेलमा तेस्रो मिनेटमा नै उपहार गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो।
तेस्रो मिनेटमा भिल्लारियलका पाउ टोरेसले आत्मघाती गोल गरेका हुन्। तर १४ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गरी भिल्लारियललाई बराबरीमा ल्याएका थिए। २० औँ मिनेटमा मेस्सीको सहयोगमा लुइस स्वारेजले गोल गरे। यस्तै ४५ औँ मिनेटमा मेस्सीकै सहयोगमा एन्टोनी ग्रिजम्यानले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–१ को अग्रता लियो। ८६ औँ मिनेटमा आन्सु फातीले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भएको हो।
जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३४ खेलबाट ७३ अङ्क भएको छ। भने शीर्ष स्थानको रियल मड्रिडको ७७ अङ्क रहेको छ। रियल मड्रिड भन्दा बार्सिलोना ४ अङ्कले पछि परेको छ। पराजित भएको भिल्लारियल ३४ खेलबाट ५४ अङ्कसहित पाँचौँ स्थानमा कायम रहेको छ।
साथै बार्सिलोनाका लागि दुई गोल लियोनेल मेसीले असिष्ट गरेका थिए। यो सँगै मेसीले यस सिजनमा कुल १९ असिष्ट गरेका छन्। मेसीले यस अघि २०१४-१५ सिजनमा आफूले नै बनाएको १८ गोल असिष्टको रेकर्ड तोडेका हुन्। यो स्पेनिस ला ल्गिआ लिगामा एकै सिजनमा कुनै पनि खेलाडीले गरेको अहिलेसम्मकै धेरै गोल असिष्ट हो।



















