म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ। म्यानचेस्टर युनाइटेड नरिच सिटीलाई हराउँदै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाइटेडले नरिचलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा कप्तान ह्यारी मग्वायरले एक गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए हुन्। यसअघि निर्धारित समयमा म्यान्चेस्टर युनाइटेडका ओडन इघालो र नरिच सिटीका कान्टवेलले एक एक गोल गरेका थिए।
खेलको ८९ औं मिनेटमा टिम क्लोसले रातो कार्ड पाएपछि नरिच १० खेलाडीमा समेटिएको थियो। जितसँगै म्यान्चेस्टर युनाइटेड कीर्तिमानी ३० औं पटक एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। एफए कप अन्तर्गत अरु तीन क्वाटरफाइनल खेलहरू आज हुँदैछन्, जसमा आर्सनलले शेफिल्ड युनाइटेडसँग र चेल्सीले लेस्टर सिटीसँग खेल्दै छन्। यस्तै म्यानचेष्टर सिटीले न्युकासल युनाइटेडसँग खेल्नेछ।