कोरोनाका कारण स्थगित इटालियन सिरी ‘ए’ आजदेखि सुचारु हुँदै
एजेन्सी। कोरोना महामारीका कारण स्थगित भएको इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि पुन सुरु हुँदै छ। इटालीमा १२ जुनदेखि नै कोप्पा इटालिया फर्किए पनि सिरी ‘ए’ भने आजदेखि सुरु हुन लागेको हो।
सिरी ‘ए’ को आज पहिलो दिन दुई खेल हुँदैछ। टोरिनो र पार्माबीच राति ११ः१५ बजे तथा हेलास भेरोना र काग्लिएरीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ। टोरिनो २७ अङ्क जोडेर १५औं स्थानमा रहँदा पार्मा ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ। आठौँ स्थानमा रहेको हेलास भेरोनाले घरेलु मैदानमा काल्गिएरीको आतिथ्यता गर्दै छ। घरेलु मैदानमा जित हात पार्न सके भेरोना सतौँ स्थानमा उक्लने छ। ३२ अङ्क जोडेर १२औं स्थानमा रहेको काल्गिएरीले भेरोनालाई पराजित गर्न सके १०औं स्थानमा उक्लनेछ।
सिरी ‘ए’ को २६औं चरणको खेलपछि युभेन्टस ६३ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ। ६२ अङ्क जोडेर लाजियोले युभेन्टसलाई पछ्याइरहेको छ। इन्टर मिलान ५४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ।



















