उद्यमी गुरुङ पुरस्कृत
ताप्लेजुङ । ताप्लेजुङस्थित चन्दन फाइबर उद्योगकी सञ्चालक माया गुरुङ पुरस्कृत हुनुभएको छ । ३० औं राष्ट्रिय घरेलु तथा साना औद्योगिक प्रदर्शनीमा प्रदेश १ मा उत्कृष्ट सामग्री उत्पादन गर्नेमा छनोट भई गुरुङ पुरस्कृत हुनुभएको हो ।
गुरुङले स्थापना गर्नुभएको चन्दन फाइबर उद्योगमार्फत अलैँचीको रेसाबाट उत्पादन भएका सामग्रीहरु प्रदेश १ कै उत्कृष्ट सामग्री भएका छन् ।
उत्कृष्ट सामग्री उत्पादन गर्नेमा छनोट हुनुभएकी गुरुङलाई आइतबार काठमाडौंमा आयोजित औद्योगिक प्रदर्शनीमा सङ्घीय सरकारका उद्योगमन्त्री मातृकाप्रसाद यादवले नगदसहित पुरस्कृत गर्नुभएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग अधिकृत सुनिल आचार्यका अनुसार गुरुङले नगद १३ हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्र पाउनुभएको छ । उहाँले आफ्नो उद्योगमार्फत अलैँचीको रेसाबाट जेन्स तथा लेडिज पर्स, झोला, टेबुल पोस, बस्ने पिरा, डालो, पेन बक्स लगायतका दर्जनौं सामग्री उत्पादन गर्दै आउनुभएको छ । औद्योगिक प्रदर्शनीमा सहभागी भई आफ्नो उत्पादनहरु उत्कृष्ट छनोट भएकोमा उहाँले प्रसन्नता समेत व्यक्त गर्नुभयो ।



















