एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको छ। आउने स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर एमालेले ‘पार्टी जागरण अभियान’ पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकेको हो ।
यही जेठ ११ गते सम्पन्न एमालेको सचिवालयको बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो ।
अध्यक्ष ओलीले शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा र पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाएका हुन् । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इन्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये छ सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।



















