ताप्लेजुङका दलहरु चुनावी गतिविधीमा ब्यस्त

वेलकम खबर
फाल्गुन ६, २०८२

ताप्लेजुङ । आगामी  फाल्गुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा ताप्लेजुङमा दल तथा उम्मेदवारहरूले मतदाता भेटघाटसहितका कार्यक्रमहरूलाई तीव्रता दिएका छन्। नेकपा एमालेले जिल्लाका विभिन्न ठाउँहरूमा आमसभा कार्यक्रम थालेको छ भने अन्य दलहरू मतदाता भेटघाट कार्यक्रममा व्यस्त रहेका छन्। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्रमश : आगामी फागुन ९ गते र १० गतेदेखि विभिन्न स्थानहरूमा आमसभा सुरु गर्ने जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीले आमसभा नगरी मतदाता भेटघाटका लागि घरदैलोमा जाने नीति लिएको छ। एमालेले सोमबारबाट आमसभा कार्यक्रम सुरु गरेको हो।

सिंदिवा गाउँपालिकाबाट बृहत चुनावी आमसभा थालेको एमालेले मङ्गलबार सिरिजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक तथा आज पाथीभरा याङ्वरकको केन्द्र थेचम्बुमा चुनावी आमसभा गरेको छ। जिल्लाका अधिकांश वडाहरूमा मतदाता भेटघाट सकेको नेपाली काङ्ग्रेसले फागुन ९ गतेदेखि आमसभा कार्यक्रम गर्ने जनाएको छ। कांग्रेसले आज फुङ्लिङ नगरपालिका ११ फवाखोला,पाथीभरा याङ्वरक ३ तिरिङ्गे तथा सिरिजङ्घा गाउँपालिका ३ सिकैचामा पुगेर मतदाता भेटघाट कार्यक्रम सकेको छ। नेपाली कम्युनिष्ट पार्टीले हालसम्म जिल्लाका ५० वटा वडाहरूमा घरदैलो कार्यक्रम गरेको बताएको छ। वाइसीएल केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कैलाश माबोका अनुसार नेकपाले आज पाथीभरा याङवरकको नाङ्खोल्याङमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । फुङ्लिङका वडाहरूमा अबको मतदाता भेटघाट कार्यक्रम रहेको माबोले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाका ५४ वटा वडाहरूमा मतदाता भेटघाट सम्पन्न गरेको जनाएको छ ।

आज फुङ्लिङ नगरपालिका १० फुरुम्बुका मतदाताहरूसँग भेटघाट गरेर फर्किएको रास्वपका जिल्ला नेता लीलाराज पौडेलले जानकारी दिनुभयो । १० गतेदेखि आमसभा कार्यक्रम राख्ने तयारी रहेको उहाँको भनाइ छ। श्रम संस्कृति पार्टी हाल सिरिजङ्घा गाउँपालिकामामा घरदैलो कार्याक्रम गर्दै छ । हाल सिकैचामा घरदैलो कार्यक्रममा व्यस्त जिल्ला सहसचिव रोशन लाबुङले रेडियो ताप्लेजुङलाई बताउनुभयो ।उहाँका अनुसार उक्त पालिकाको विभिन्न वडाहरूमा घरदैलो कार्यक्रम सकेर सिंगो सिदिंवा गाउँपालिकाका वडाहरूमा घरदैलो कार्यक्रम गर्ने र फुङ्लिङ नगरपालिका केन्द्रित रहने कार्यतालिका रहेको छ। उज्यालो नेपाल पार्टी (उनेपा )प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ का तीन पालिकाका मतदाताहरूसँग भेटघाट कार्यक्रम सकेर हाल क्षेत्र ‘ ख ‘का पालिकाहरूमा घरदैलो कार्यक्रममा व्यस्त रहेको प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार कृतिमान मादेनले जानकारी दिनुभयो। जिल्लाका विभिन्न पालिकाहरूमा घरदैलो कार्यक्रम सकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) यतिखेर सिरिजंघा गाउँपालिका पुगेको छ।

जँतो चुनाव चिन्ह लिएर चुनावमा होमिएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा ),रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी ( नाउपा ) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीको संयुक्त गठबन्धनले आजै फुङ्लिङमा पत्रकार भेटघाट गर्दै चुनावी एजेण्डा सार्वजनिक गरेको छ। अन्य पार्टीहरू पनि चुनावी माहोलमा सक्रिय बन्दै गएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*