राष्ट्र बैंकको १८ औं गभर्नर बनेका डा. विश्व पौडेल को हुन् ?

वेलकम खबर
जेष्ठ ६, २०८२

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको बताए । डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत हुन् । यसअघि गभर्नर सिफारिस समिति सदस्य रहेका उनले पछि त्यसबाट राजीनामा दिएका थिए । गभर्नर नियुक्तिको विषय पछिल्लो समय निकै चर्चामा थियो ।

को हुन् पौडेल ?

नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए । पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा लिने गरिन्छ । पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । जुनबेला प्रधानमन्त्रीमा देउवा नै रहेका थिए । अहिले पौडेललाई गभर्नर बनाउँदा समेत कांग्रेस सरकारमै रहेको छ ।

नवनियुक्त पौडेलको घर चितवन हो । उनले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*