मच्छिन्द्र एफसी फाल्गुनन्द गोल्डकपको फाइनलमा

वेलकम खबर
पुस १३, २०८१

फिदिम । न्यू रोड टिम (एनआरटी)लाई पराजित गर्दै उपाधिको दाबेदार मच्छिन्द्र एफसी यहाँ जारी ११औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । एनआरटीलाई १-० गाेलले हराएर मच्छिन्द्र फाइनलमा पुगेकाे हाे ।

फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध साँघुरो जित निकाल्दै मच्छिन्द्रले बाजी मारेको हो । पर्सि हुने फाइनल खेलमा मच्छिन्द्रले लिग लिडर चर्च ब्वाइज युनाइटेडसँग भेट पक्का गरेको छ ।

मच्छिन्द्रका लागि खेलको १०औँ मिनेटमा दयानन्दले गरेको गोल नै निर्णायक बनेको थियो । विजु भुजेलको हेड फ्लिकमा उनले गोल गरेका हुन् । एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाउ गर्ने मौका नै पाएनन् ।बाँकी ८० मिनेटको अधिकांश समय मच्छिन्द्रको पक्षमा रह्यो । केही अवसर सिर्जना गरे पनि एनआरटी स्कोर गर्न चुकेको थियो । एनआरटीका कप्तान अन्जन विष्टको केही राम्रा प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए ।

खेलको प्लेयर अफ दी म्याच नेपाली टोलीका पूर्व रक्षक देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए । यस गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*