ताप्लेजुङको खेबाङमा खेबाङ गोल्डकप हुने, जित्नेले डेढ लाख पाउने
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेबाङ गोल्डकपको सातौँ संस्करण सञ्चालन हुने भएको छ ।सो खेलमा विजेताल १ लाख ५० हजार पुरस्कार राशी राखिएको छ ।
खेबाङ स्पोर्टिङ क्लबले शुक्रबार फुङलिङ सदरमुकाममा पत्रकार सम्मलेनको आयोजना गर्दै आगामी कात्तिक १० गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भईरहेको जानकारी गराएको छ ।
गोल्डकप सिरिजंघा गाउँपालिका ७ खेबाङमा सञ्चालन हुने क्लबका अध्यक्ष बिनम माबोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्ला बाहिरका नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टार फुटबल क्बल झापा र कुम्मायक गाउँपालिका पाँचथरले सहभागिता जनाउनेछन् ।
बाँकी ताप्लेजुङका तेल्लो स्पोर्टिङ क्लब तेल्लोक, लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम, नैना कम्पनी प्रालि खेबाङ, पेदाङ स्पोर्टिङ क्लब पेदाङ र आयोजक खेबाङ स्पोर्टिङ क्लबले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको बिजेता १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपबिजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै गोल्डकपमा बिभिन्न बिधामा उत्कृष्ट हने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान रहेको अध्यक्ष माबोको भनाई छ । सिरिजंघा गाउँपालिकाको कार्यालय, ७ नं वडा कार्यालय खेबाङ, पालिकाभरि निर्माणधिन अबस्थामा रहेका बिभिन्न जलबिद्युत परियोजना लगायत अन्य दाताहरुमार्फत आर्थिक संकलन गरि खेल सञ्चालन गर्ने आयोजकको तयारी छ ।
२०६१ सालदेखि बिजयादशमी तथा शुभदीपावलीको अवसरमा खेलाईदै आएको खेल २०७५ सालदेखि भने गोल्डकपको रुपमा सञ्चालन हुन थालेको बताइएको छ ।