पूर्वकप्तान सागर थापासहित ५ जनाले पाए सर्वोच्चबाट सफाइ

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ५ जनालाई सफाइ दिएको छ। अन्तर्राष्ट्रिय खेलहरूमा म्याच फिक्सिङको आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो। उक्त पुनरावेदन हालसम्म पाँच पटक पेशी तोकिएको छ। तर सबै पटक उक्त मुद्दा हेर्न नभ्याइने हुँदै सुनुवाई सर्दै आएको थियो। त्यसपछि उनीहरूको लागि सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षा थियो।
महानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागरसहित पूर्वगोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईलाई पक्राउ गरेको थियो। उनीहरु विरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरूलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो। यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरूले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो। तर अदालतमा यी कुरा पुष्टि हुन नसकेपछि सफाइ दिएको हो।
उनीहरू विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइए पनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए। अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए।