ओमानबाट १६६ नेपाली आइपुगे

वेलकम खबर
असार १, २०७७

काठमाडौँ। ओमानबाट १६६ नेपाली काठमाण्डौमा आइपुगेका छन्। कोरोनाको कारण समस्यामा परेका १६६ जना नेपाली सलाम एअरको उडान नम्बर ओभी ४२७ मार्फत स्वदेश फर्किएका हुन्। जहाजले एउटा शव पनि ल्याएको छ। समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एयरमार्फत स्वदेश पठाएको हो।

सरकारले हिमालय र नेपाल एयरलाइन्स मार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको हो। एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ। यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेको भन्दा सस्तो हो। सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ। यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो।

ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको त्यहाँको नेपाली दूतावासले जनाएको छ। पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वारेन्टाइनमा जान पाउनेछन्। कतिपय नेपालीले आफैँले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ। समस्यामा परेका १३ जना महिलालाई भने दूतावासले नै खर्चको व्यवस्थापन गरेर पठाएको बताइएको छ।

दोस्रो उडान असार ४ गते हुँदैछ। यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् । उनीहरूको सूची दूतावासले सार्वजनिक गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*