ताप्लेजुङका स्थानीय तहको बजेट पाँच अर्ब
ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहले करिव पाँच अर्ब रुपियाँ बराबरको बजेट ल्याएका छन् । जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि उक्त बजेट ल्याएका हुन् ।
एक नगरपालिका र आठ गाउँपालिका गरी जिल्लाका नौ वटा स्थानीय तहले आफ्नो गाउँ नगरसभा तथा अधिवेशनमार्फत आगामी आवका लागि कुल चार अर्ब ९२ करोड ९५ लाख १०२ रुपियाँ बजेट प्रस्तुत गरेका छन् । फुङ्लिङ नगरपालिकाले सबैभन्दा बढी ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँको बजेट ल्याएको छ ।
फुङ्लिङपछि सिरिजङ्घा गाउँपालिकाको आगामी बजेट ६० करोड ४२ लाख नौ हजार ५४० रुपियाँ रहेको छ । आगामी आवका लागि सबैभन्दा कम ९न्युन० बजेट मैवाखोला गाउँपालिकाको ४३ करोड ६१ लाख ३४ हजार ८० रुपियाँ रहेको छ । यस्तै, फक्ताङ्लुङ गाउँपालिकाले ५८ करोड ५५ लाख २२ हजार रुपियाँको आगामी आवका लागि बजेट ल्याएको छ । सिदिङ्वा गाउँपालिकाको ५३ करोड आठ लाख २६ हजार रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिकाको ५२ करोड ८० लाख ९९ हजार रुपियाँ, मेरिङ्देन गाउँपालिकाको ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपियाँ बजेट रहेको छ ।
यसैगरी, आठराई त्रिबेणी गाउँपालिकाको ५१ करोड ५८ लाख ६८ हजार १३४ रुपियाँ र मिक्वखोला गाउँपालिकाको ४६ करोड ३३ लाख ८९ हजार ६७५ रुपियाँ बजेट रहेको छ । जिल्लामा सबैभन्दा पहिले सिदिङ्वा गाउँपालिकाले असार ७ गते नै आगामी आवको बजेट प्रस्तुत गरेको थियो ।
सिदिङ्वापछि असार ९ गते मैवाखोला, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकाले आगामी बजेट प्रस्तुत गरिएका थिए भने बाँकी स्थानीय तहले बुधबार बजेट सार्वजनिक गरेका हुन् । अधिकांश स्थानीय तहले कृषि र पूर्वाधारका योजनालाई जोड दिँदै आफ्नो बजेट प्रस्तुत गरेका छन् ।


















