आठराई त्रिवेणीलाई समृद्ध बनाउन यस्तो छ योजनाको प्राथमिकिकरण
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले विभिन्न १६ वटा योजनालाई प्राथमिकीरण गरेको छ । पालिका अध्यक्ष दिपेन पोमूले प्रस्तुत गर्न भएको आर्थिक वर्ष ०८३।०८४ नीति तथा कार्यक्रममा मा समृद्ध पालिका निर्माणको लागि विभिन्न १६ वटा आयोजनलाई प्राथमिकीकरण गरेको हो । जस्ताको छानो गाउँपालिकाको सान, फुसको छानो विस्थापित गर्ने हाम्रो अभियान भन्ने नाराका साथ गाउँपालिका भित्रका फुसको छानो भएका घरहरूलाई टिनको छानाको व्यवस्था गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ उक्त कार्यक्रमलाई सम्पन्न गर्दै यस आ.ब मा पूर्णरुपमा फुसको छानो विस्थापित पालिका घोषणा गरिनेछ । त्यसै हाम्रो पालिका उज्यालो पालिका कार्यक्रम अन्तर्गत घरायसी प्रयोजनमा खपत हुने विद्युत महसुल नि : शुल्क गर्ने व्यवस्थालाई आगामी आ.ब मा पनि निरन्तरता दिइने उल्लेख गरेको छ । पालिकाले स्वास्थ्य हाम्रो पहिलो धन अनि बन्छ समृद्ध र सुखी मानव जीवन” भन्ने उक्तिलाई सार्थकता दिदैँ सुत्केरीलाई निःशुल्क एम्बुलेन्स प्रदान गर्ने सेवालाई निरन्तरता दिइने भएको हो ।
सबैका लागी निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १२ सम्मको शिक्षा लाई यो आ.ब मा पनि निशुल्क गरिने उल्लेख गरेको छ । कृषि क्षेत्रको विकासका लागि किसान लक्षित कृषि अनुदानका कार्यक्रम सञ्चालन भएको हो । पालिका भित्रका मुख्य सडकहरूको थप विकास र स्तर उन्नति गर्ने तथा शाखा सडकहरू बाह्रै महिना संचालन हुने गरि मर्मत सम्भार र स्तरोन्नति कार्य गर्ने सञ्चालन गर्ने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा खानेपानीको अभावमा रहेका बस्तीहरूमा खानेपानीको उचित व्यवस्थापन गरिने छ साथै पूर्वाधार विकासका निम्ति वार्षिक बजेट कार्यक्रममा रहेका योजनालाई मितव्ययी, पारदर्शी, लागत प्रभावकारी, प्राविधिक स्टिमेट र गुणस्तरमा तादम्यता हुने गरी कार्यान्वयनमा उल्लेख गरेको हो ।
विपत व्यवस्थापन गर्नका लागि पूर्व तयारी गर्ने, विपतको अवस्थामा तत्काल राहत उपलब्ध गराउने, उद्धार गर्ने शासनका सहयात्री सँग समन्वय गरी पुनः निर्माण र पुनस्थापनाको कामलाई अगाडि बढाउने उल्लेख गर्दै आन्तरिक आय वृद्धि गर्ने उद्देश्यले पर्यटन पूर्वाधार विकासका लागि भएका प्राकृतिक पर्यटकीय क्षेत्रको पहिचान, विकास तथा विस्तार गर्ने एवं कृत्रिम पर्यटन पूर्वाधार निर्माण गर्ने साथै एग्रो टुरिजम को अवधारणा विकास गरिने नीति लिइएको छ । पालिकाले कार्यालयको सुशासन प्रवर्द्धनमा सूचना प्रविधिको प्रयोगलाई थप व्यवस्थित गर्दै प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा अध्ययनमा आधारित रहि दिगो विकासको अवधारणालाई आत्मसाथ गदै लाने साथै पालिका जवाफदेही बनाउनका लागि जनता, चासो गुनासो सम्बोधन गर्न सार्वजनिक सुनवाई, सामाजिक परिक्षण र सार्वजनिक परिक्षण, आन्तरिक नियन्त्रण सम्बन्धी कार्य निरन्तर गर्दै जाने उल्लेख गरेको हो ।
समृद्ध आठराई त्रिवेणीको आधार कृषि, उद्यम र रोजगार भन्ने नाराका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमसँगको साझेदारीमा एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्दै उपभोक्ता समितिको दर्ता र सम्झौता वडा कार्यालयबाटै गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको छ । गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरू, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका कार्यालयमा निशुल्क इन्टरनेट जडान गरिसकिएकोले आगामी दिनमा थप व्यवस्थित गदै जाने उल्लेख गरेको छ ।


















