पर्वत पहिरोमा पुरिएका आठ जनाको शव भेटियो, एक जना अझै बेपत्ता
पर्वत। पर्वतको कुस्मा नगरपालिका वडा नम्बर-३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ। गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो। पुरिएका ९ जनामध्ये ३ जनाको शव गएराति नै भेटिएको थियो, आज बिहान थप ५ जनाको शव भेटिएको छ।

पहिरोमा पुरिएका दिपा थापा, कमला बिक, तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा, नातिनी विविशा थापा, जेनिसा बिक, सम्राट थापा र विवेक थापाको शव भेटिएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएकी प्रमिसा विकको खोजी भइरहेको जनाइएको छ।

आइतबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासीले उद्धार सुरु गरेको छन्। शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको वनक्षेत्रबाट पहिरो आएको थियो। राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो । घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ।

वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राती नै नजिकै रहेको होमस्टेमा राखिएको हो।




















