संविधान संसोधन विधेयक दुई तिहाइ बढी मतले पारित
काठमाडौँ। संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाको शनिबारको बैठकले प्रतिनिधिसभाको शनिबारको बैठकले उक्त विधेयक दुई तिहाइभन्दा बढी मतले पारित भएको हो। विधेयकमा मतदान हुँदा पक्षमा २५८ मत परेको थियो भने विपक्षमा शून्य मत परेको थियो।
प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि विधेयकमाथि मतदान भएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामा उपस्थित सबै २५८ जनाले पक्षमा मतदान गरेका थिए। मत परिणाम घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटाले विधेयक दुई तिहाइभन्दा बढी मतले पारित भएको बताए।
भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न संविधान संशोधन प्रस्ताव ल्याइएको हो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्। अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।



















