नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक आज पारित हुँदै

वेलकम खबर
जेष्ठ ३१, २०७७

काठमाडौँ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाले बैठकले नयाँ नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दै ऐतिहासिक निर्णय गर्दैछ। सम्भावित कार्यसूची अनुसार, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ। विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाएका छन्।

सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा सहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे लगत्तै सरकारले निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको थियो। नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छाप भित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन आवश्यक भएकाले सरकारले प्रतिनिधिसभा विधेयक दर्ता गराएको हो।

यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*