कोरोनाबाट एकै दिनमा १ लाख ४० हजार सङ्क्रमित
काठमाडौँ। विश्वमा कोरोना भाइरसबाट एकै दिनमा सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। बिहीबार १ लाख ३७ हजार ८ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। बुधबार १ लाख ३५ हजार ६ सय ३८ जनामा सङ्क्रमित थपिएका थिए।
यसरी पछिल्लो तीन दिनमा लगातार थपिएका सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड राखेको छ। जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिले सम्म विश्वमा ७६ लाख २९ हजार २ सय बढि व्यक्ति सङ्क्रमित भएका छन्। भने, अहिले सम्म ४ लाख २५ हजार ३ सय ३० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै सङ्क्रमित थपिएका छन्। ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजारमा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ६ सय ३ जनाको मृत्यु भएको छ। जसमध्ये ब्राजिलमा ८४३, अमेरिकामा ७९१, मेक्सिकोमा ५८७, भारतमा ३८९, चिलीमा २२२, बेलायतमा २०२, पेरुमा १९९ र रुसमा १८३ जनाको को मृत्यु भएको छ।



















