नेपाल-भारत सीमाक्षेत्रमा गोली चल्यो, एकको मृत्यु
काठमाडौँ। नेपाल-भारत सीमाक्षेत्रमा तनाव भई गोली चल्दा एक जनाको मृत्यु भएको छ। सर्लाहीको नारायणपुरमा गोली चलेको हो। भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोज्दा झडप भएको र झडपका क्रममा सशस्त्र प्रहरीको हतियार खोस्न खोजे पछि सशस्त्र प्रहरीले गोली चलाएको जनाइएको छ। त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको बताइएको छ।
गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको नाम, ठेगाना खुलेको छैन। पर्सा गाउँपालिका– ३ नारायणपुरमा भारतीय नागरिकहरू नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो। त्यसक्रममा भएको झडपका क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोसेका थिए। आक्रमणकारी तीनजना घाइते भएका छन्। हतियार खोस्न आउने केही व्यक्तिलाई प्रहरीले पक्राउसमेत गरेको छ।



















