सोती हत्या प्रकरणमा राजनीति भयो, पीडितले न्याय पाउन गाह्रो छ : अधिकारकर्मी
काठमाडौँ। ६ जनाको हत्या भएको रुकुम पश्चिमको सोती घटनामा राजनीतिकरण धेरै भएको स्थलगत अध्ययनकर्ताले बताएका छन्। साथै उनीहरूले घटनालाई राजनीतिकरण गरिएकाले पीडितले न्याय पाउने सम्भावना कम हुँदै गएको प्रति चिन्ता पनि व्यक्त गरेका छन्।
क्रियाशील दलित पत्रकार सङ्घ नेपाल (आडजोन) ले बुधबार गरेको भर्चुअल बहस श्रृङ्खलामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुम पश्चिमकी जिल्ला प्रतिनिधि मनिषा केसीले न्यायका लागि पीडित छटपटाई रहे पनि सरकारले न्याय दिन ढिलाई गरेको बताइन्। केसी रुकुम पश्चिम चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा इन्सेकले तयार पारेको प्रारम्भिक प्रतिवेदन टोलीकी संयोजक हुन्। उनकै संयोजकत्वमा रहेको ७ जना टोलीले घटनाबारे सबैभन्दा पहिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो।
उनले घटनामा संलग्नलाई बचाउन अनेक तानाबाना बुन्न खोजिएको समेत दाबी गरिन्। घटनाका प्रत्यक्षदर्शी तथा घाइतेहरूले नवराजसहित ६ जना युवाहरूलाई कुटेर, मारेपछि मात्रै भेरी नदीमा फालेको बयानको आधारमा उनीहरूको मृत्यु नभई हत्या भएको केसीको भनाई रहेको छ। घटनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरिएको भन्दै केसीले वास्तविकता जान्दाजान्दै पनि घटनालाई तोडमोड गर्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरिन्। भर्चुअल बहसमा सहभागी पत्रकारले सोधेको प्रश्नमा जवाफ दिदैँ उनले भनिन्, ‘घटना घटेको यतिका दिन भइसकेको छ। घाइतेहरू उपचारको पर्खाइमा छन्। पीडितहरू विछिप्त भएका छन्। घटना कसले घटायो? भन्ने स्पष्ट बयान र प्रमाण छ। तर पनि पीडितलाई न्याय दिनुको साटो झन् घटनालाई नै तोडमोड गर्ने प्रयास भइरहेको छ, जुन दुःखद हो।’
यस्तै घटनाका बारेमा स्थलगत अध्ययन गरेर फर्केका सामाजिक अभियन्ता तथा पत्रकार अशोक दर्नालले अन्तरजातीय प्रेम विवाहको निहुँमा सामूहिक र सुनियोजित ढङ्गबाट विभत्स हत्या भएको भन्दै पीडितलाई न्याय दिलाउने कुरामा कसैले राजनीति नगर्न आग्रह गरेका छन्। मूलधारका मिडियाको टोलीसहित घटनास्थल पुगेका दर्नालले भर्चुअल छलफलका क्रममा वरिष्ठ पत्रकार किशोर नेपालले पीडित परिवारलाई भेटेर विस्तृत अध्ययन गर्नुभन्दा पनि सहानुभूति मात्र दिएर फर्केको उनको दावी छ।
वास्तविक घटनास्थल नपुगेर घटना जातीय कारण नभई भेरी नदीमा हाम फालेर युवाहरुको ज्यान गएको भन्ने किशोर नेपालको भनाई गलत रहेको दर्नालको टिप्पणी थियो। घटनास्थल नपुगेरै घटनाबारे अनेकन भ्रम छर्ने काम वरिष्ठ पत्रकार नेपालबाट भएको दर्नाल बताउँछन्। घटनालाई तोडमोड गर्ने प्रयासमा लागेका प्रहरी, राजनीतिक दलमाथि कारबाही हुनुपर्ने पत्रकार दर्नालले बताए। जातीय विभेदका घटना बढ्दै गएपछि क्रियाशील दलित पत्रकार सङ्घ नेपाल आडजोनले भर्चुअल श्रृंखला शुरु गरेको हो। आडजोनले दलित अधिकारकर्मी, दलित सांसद तथा पत्रकारहरुसँग रुकुम हत्या प्रकरण पछि निरन्तर छलफल चलाउँदै आइरहेको छ।



















