सांसद सरिता गिरीको संशोधन प्रस्ताव फिर्ता नलिने अडान

वेलकम खबर
जेष्ठ २८, २०७७

काठमाडौँ। नवगठित जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव फिर्ता नलिने अडान राखेकी छिन्। उक्त संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी सांसद गिरीले आफ्नो अडानबाट पछि नहट्ने बताएकी छिन्।

गिरीले बुधवार नै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको निसान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएपछि तत्कालीन समाजवादी पार्टीको संसदीय दलले विज्ञप्ति जारी गरी सांसद गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको छ।

दलले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए पनि संसद्‌मा आफूमाथि गाली बेइज्जती हुँदा पार्टीले कुनै प्रतिक्रिया नजनाएको भन्दै पार्टी निर्देशनबाट पछि नहड्ने उनको भनाई रहेको छ। संशोधन फिर्ता नलिने बारे नेताहरूलाई आफूले प्रस्ट भनिसकेको उनको भनाइ छ। सरकारी विधेयकमा तथ्य र प्रमाण नपुगेकाले संशोधन गर्नुपरेको गिरीको तर्क रहेको छ। तर पछिल्लो अभिव्यक्ति र कदमले गिरीमाथि कारबाही गर्न चौतर्फी दबाब बढेको छ।

आजै साँझ गिरीको विशालनगरस्थित निवासमा केही युवाहरूको समूहले कालो झण्डा देखाएका छन्। जसपाका बरिष्ठ नेता डा। बाबुराम भट्टराईले पनि आफ्नो पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी भएकोले यसका नेता तथा कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्याउने कार्य गर्न नहुने र गर्न नसक्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुने टिप्पणी गरेका छन्।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*