सांसद सरिता गिरीलाई कारबाही गर्न युवा सङ्घको अल्टिमेटम

वेलकम खबर
जेष्ठ २८, २०७७

काठमाडौँ। राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि बढाउन माग गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा सङ्गठन ‘राष्ट्रिय युवा सङ्घ, नेपाल’ले सङ्घीय संसद् तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सीमा सुरक्षा विपरित गिरीले अभिव्यक्ति दिएकाले कारबाही गर्न सङ्घीय सांसद सचिवालय र जनता समाजवादी पार्टीलाई आग्रह गरेको हो।

‘सांसद गिरीको यस खालको असंवैधानिक, राष्ट्रहित प्रतिकूल हुने एवं देशको स्वाभिमान माथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरीतको हर्कतको राष्ट्रिय युवा सङ्घ नेपाल घोर आपत्ति र भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ। सङ्घले गिरीलाई सांसद सदस्यबाट अविलम्ब फिर्ता बोलाउन सम्बन्धित राजनीतिक दललाई आग्रह पनि गरेको छ। ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

उसले गिरीका विरुद्धमा सङ्घीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानुनी कारबाही अघि नबढाए यो विषयलाई आफ्नो सङ्गठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा भनिएको छ। ‘त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं निज सरिता गिरी र सम्बन्धित दल हुने व्यहोरा समेत अग्रिम जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*