भारतमा लकडाउन हटाए कोरोना सङ्क्रमण डरलाग्दो बुद्धि हुने डब्लुएचओकोे चेतावनी
एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का एक प्रमुख विशेषज्ञले भारतमा लकडाउन हटाए कोरोना भाइरस सङ्क्रमणमा डरलाग्दो वृद्धि हुने चेतावनी दिएका छन्। भारतमा कोरोना भाइरसको सङ्क्रमण आक्रान्त रुपमा बढिरहे सँगै अहिले त्यहाँ जोखिम पनि बढेको छ। मार्च देखि लागू भएको लकडाउन हटाउने तर्फ बढ्नुले यस प्रकारको जोखिम बढेको हो।
डब्लुएचओका स्वास्थ्य सङ्कट स्थिति कार्यक्रमका कार्यकारी निर्देशक मिसेल रियानले शुक्रबार भारतमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या दुई गुणा हुनलाई यो स्तरमा करिब ३ हप्ता मात्र समय लाग्ने बताएका छन्। भारतको विभिन्न हिस्सामा महामारीको असर फरक फरक भएको उनले बताएका छन्। भारतमा देशव्यापी लकडाउन जस्तो कदमले सङ्क्रमण फैलिने गतिलाई कम गरेको छ। तर देशमा गतिविधि शुरु भए पछि सङ्क्रमण बढ्ने खतरा बनेको उनले बताए।
भारतले कोरोना महामारीको मामिलामा इटालीलाई पछाडी पार्दै विश्वको सबैभन्दा धेरै प्रभावित देशको ६औँ नम्बरमा स्थान बनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशमा सङ्क्रमणको एक दिनमा सर्वाधिक सङ्ख्या आएको छ, जसमा ९ हजार ८ सय ८७ नयाँ सङ्क्रमित पुष्टि भएका छन् भने २ सय ९४ को मृत्यु भएको छ। यो पछि भारतमा अहिले सम्म सङ्क्रमणको कुल सङ्ख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको छ भने मर्नेको सङ्ख्या ६ हजार ६ सय ४३ पुगेको छ।



















