प्रधानमन्त्री ओलीको रचना समेटिएको गीति एल्बम विमोचन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन भएको छ। मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा शनिबार सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गरेका छन्।
राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ। एल्बममा प्रधानमन्त्री ओलीले रचना गरेका गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास’लाई गायक शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन्। त्यस्तै संयोजक पौडेलले रचना गरेको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन्।
रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राजेश पायल राईले आवाज दिएका छन्। त्यस्तै विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिएका छन्। किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसङ्ग्रहमा आमोश तामाङको सङ्गीत संयोजन रहको छ भने, एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईको सङ्गीत रहेको छ।
प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन निभाएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले बताएका छन्।



















