सरकारी खर्चमा भाषणकला तालिम लिएको खुलेपछि फिनल्याण्डकी अर्थमन्त्रीले दिइन् राजीनामा
एजेन्सी। भाषणकलाको तालिम लिन सरकारी पैसा खर्च गरेको खुलासा भएपछि फिनल्याण्डकी अर्थमन्त्री कत्री कुलमनीले राजीनामा दिएकी छन्। यद्यपि उनी सरकारी गठबन्धनमा सम्मिलित सेन्टर पार्टीको नेतृत्वमा भने रहने छिन्।
कुलमनीले कसरी भाषण कला बनाउने भन्ने विषयमा कक्षा लिएकी थिइन्। त्यसबापत उनले करिब ५० हजार युरो लिएको रोयटर्सले जनाएको छ। यस विषयमा समाचार आएलगत्तै जनताले आपत्ति जनाएका थिए। मन्त्री जस्तो पदमा बसेको व्यक्तिले कर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको थियो।
मन्त्री कुलमनीले आफूले पढाए बापतको पैसा मात्र फिर्ता गरिनन्, अन्ततः पदबाटै राजीनामा दिएको रोयटर्सले जनाएको छ। जनताको करको दुरुपयोग भएको स्विकार्दै पैसा फिर्ता दिनुका साथै मन्त्री पदबाट राजीनामा दिएपछि अहिले उनको चर्चा चुलिएको छ।
फिनल्याण्ड संसारकै सुखी र खुसी देश हो। जहाँ सरकारी ओहोदामा बसेकाले अलिकति पनि भ्रष्टाचार गरेमा राजीनामा दिइहाल्छन्। कसैले पनि जनताले तिरेको करको दुरुपयोग गर्दैनन्। फिनल्याण्डमा पाँच वटा पार्टीको गठबन्धनले सरकार चलाएको छ। पाँचै पार्टीको नेतृत्व महिलाले गरेका छन्। जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका छन्।



















