कोरोनाबाट नेपालमा थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो
काठमाडौँ। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दोलखा भिमेश्वर नगरपालिका-२ घर भएका उक्त ७६ वर्षीय वृद्धको महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसीयुमा उपचार भइरहेको थियो। १५ जेठमा उनमा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको बताइएको छ।
उनलाई जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि भर्ना भएको थियो। त्यहाँ उनको अपरेसन भएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। सङ्क्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरुमा गौरीशङ्कर सामुदायिक अस्पताल भर्ना गरिएको थियो। तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौँ रिफर गरिदिएको थियो। यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक-एक जनाको मृत्यु भएको छ।



















