अप्ठ्यारोका बेला करको ताकेता अस्वभाविक र गैरजिम्मेवारीपन : नेपाली कांग्रेस
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल कर बुझाउन भनि सरकारले जारी गरेको सूचनाप्रति आपत्ति जनाएको छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति जारी गर्दै कोरोनाका कारण सिर्जित लकडाउनको अप्ठ्यारोमा सरकारले कर बुझाउन जारी गरेको सूचनाप्रति आपत्ति जनाएका हुन् ।
आमनागरिकलाई पिडा माथि पिडा थप्ने कार्य अत्यन्त निन्दनीय भएको भन्दै गलत कदमलाई तत्काल सच्याएर जनताको पीडामाथि पीडा नदिन कांग्रेसले आग्रह गरेको हो ।
‘लकडाउनका कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलवा अन्य व्यवसाय, बैंक, वित्तिय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाई भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयम भित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो । सरकारको यस कार्य प्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।’
लकडाउनको अवस्थामा उद्योग, श्रमिक र कृषकलाई करको ताकेताको सट्टा राहत दिनुपर्ने ठहर कांग्रेसको छ ।
‘कोरोना रोगको कारण बन्द भएका सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरित करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी लामो समय लकडाउन भएको अवस्थामा पनि सररकारले गम्भीर एवं जिम्मेवारीपूर्वक ढंगबाट कोरोना रोगको रोकथामको लागि तत्परता नदेखाएको आरोप कांग्रेसको छ ।
बरु उल्टै जनतालाई आतङ्कित पार्ने कार्य भएको र सरकारको कार्य क्षमतामा नै प्रश्न चिन्ह खडा भएको आरोप कांग्रेसको छ । यस्ता गतिविधिले सरकार दिनप्रतिदिन असफल हुँदै गइरहेको कांग्रेले ठहर गरेको छ ।



















