ट्रम्पद्वारा डब्लुएचओसँग सम्बन्ध अन्त्यको घोषणा
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) सँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै यसै कारण ऊसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका हुन्। कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्न डब्लूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग पनि बन्द गराएका थिए।
‘हामीले डब्लूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ तर त्यसो गर्न असफल भयौं,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘आज हामी विश्व स्वास्थ्य सङ्गठनसँगको सम्बन्ध तोड्दै छौं।’
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको संस्था डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए। अमेरिका डब्लूएचओका सबैभन्दा ठूलो दाता हो। अमेरिकाले हरेक वर्ष डब्लुएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ। यसअघि उनले डब्लूएचओलाई आफ्नो व्यवहार सुधारका लागि एक महिनाको अल्टिमेटम दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमण शुरु हुने बित्तिकै सूचना नदिएको आरोप लगाएका छन्।
उनले भने, ‘चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरस सम्बन्धी जानकारीबाट पूरै विश्वलाई वञ्चित गर्यो।’ अहिले विश्वमा कोरोनाबाट सबैभन्दा पीडित अमेरिका बनेको छ। त्यहाँ कोरोना सङ्क्रमणका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। शुरुदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले शुरुमै जानकारी नदिएकाले कोरोना विश्वभर फैलिएको आरोप लगाइरहेका छन् भने डब्लूएचओ पनि उसैसँगै मिलेको दाबी गरिरहेका छन्।
२०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानस्थित एक पशुपक्षी बजारबाट कोरोना भाइरस सङ्क्रमण फैलिएको थियो। तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आशङ्का गर्दै आएको छ।



















