पर्यटनलाई पुरानै अवस्थामा फर्काउने प्रयासमा सरकार: मन्त्रीले भने- उत्साहित पार्ने बजेट
काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन्।
१३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए।

उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायिहरु उत्साहित भएको विश्वास समेत व्यक्त गरे। कोरोना भाइरस ९कोभिड–१९० बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए।
उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए।
आरोहणको क्षेत्रमा भएका समस्या समाधान गर्ने र थप रोजगारी सिर्जना गर्नेगरी पर्यटन ऐन ल्याउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए। उनले पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठानको अवधारणा अनुरुप पर्यटन विश्व विद्यालय सञ्चालन गर्ने गरी ऐन ल्याउन लागिएको समेत बताए।

उनले नेपालको सगरमाथा नेपाली पर्यटनको पुनरुत्थानको प्रेरणाको स्रोत रहेकोले सगरमाथाको सरसफाई र सुन्दरता कायम गराउन सबै पक्षले ध्यान दिनुपर्ने बताए।
सगरमाथाकै कारण नेपाल आगामी दिनमा विश्वको एक मात्रै आकर्षक गन्तब्यका रुपमा रहने उनले बताए। सन् १९५३ मे २९ मा साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिन पारेर सन २००८ यता अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ।
सन १९५३ देखि सन २०१९ को अन्त्यसम्म कुल ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। त्यसमध्ये ३ हजार ४ सय ७८ जना नेपाली नागरिक रहेका छन्। यो अवधिसम्म नेपालले विभिन्न हिमालको आरोहणबाट ५६ करोड रुपैयाँ बढी रोयल्टी प्रप्त गरेको छ भने सगरमाथाबाट मात्रै करिब ४५ करोड रुपैयाँ प्राप्त गरेको छ।



















