रुकुम चौरजहारी घटना : थप एक जनाको शव भेटियो अझै एक बेपत्ता
काठमाडौँ। रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। यो सँगै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। भेरी नगरपालिका–४ का १९ वर्षीय सन्जु विकको शव बिहीबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सन्जुको शव छेडागाड नगरपालिका–१३ स्थित मालाभिर नजिक भेरी नदीको किनारमा फेला परेका हो। भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए।
यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा फेला परेको थियो। ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो। भने अझै एकै जना भने बेपत्ता रहेका छन्। बेपत्ता भएका १७ वर्षीय गोविन्द शाहीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको भन्दै मृतक नवराज, गणेश र टीकारामका आफन्तले चौरजहारी नगरपालिका–८ सोतीकी नवराज विककी प्रेमिका १७ वर्षीया किशोरी, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
किटानी दिएका मध्ये १८ पक्राउ परिसकेका छन् भने बाँकी २ जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ। घटनामा २ सय बढी गाउँलेहरू संलग्न रहेको मृतकका आफन्तहरूले बताउँदै आएका छन्।



















