युवती लिन जाँदा हत्या घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
काठमाडौं । पश्चिमरुकुममा युवती लिन गएका युवकहरुको हत्या भएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन भएको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा बौल्दै गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।
जाजरकोट र रुकुमपश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको उनले जानकारी दिए।
समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ। यही जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका(८ आउला बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका(४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेका थिए। त्यहाँ झगडा हुँदा तीन जनाको मृत्यु भइसकेको छ भने तीनजना बेपत्ता छन्।
मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए। जाजरकोट भेरी नगरपालिका(४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामन्य घाइते भएको र केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए।
हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ। मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका(४ स्थित भेरी नदीको बीच भागमा फेला परेको थियो। रुकुम पश्चिम चौरजहारी(१ का २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका(४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ।
हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको मन्त्री थापाले जानकारी दिए। मन्त्री थापाका अनुसार भेरी नपा(११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ।
बेपत्ताको खोजीका लागि आवश्यकताअनुसार गोताखोरसमेत परिचालन गरिने उनको भनाइ छ। नवराज विकसहितको समूहमा गएको रुकुमपश्चिम चौरजहारी नगरपालिका(१ का गोपाल बुढाथोकी बीच बाटोबाटै फर्केको, घाइते सुदीप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिए।
केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताए।
उनका अनुसार युवतीका बुबा बीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुनमगर, रमेश मल्लसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
‘गाउँलेले आक्रमण गरेपछि भेरीमा हाम फाल्यौँ’
सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुद बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुमपश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृहमन्त्रीले जानकारी दिए।
सांसदहरु लक्ष्मी परियार, विमला विक, देवप्रसाद तिमिल्सिना, निरादेवी जैरु, सुजाता परियार, आशाकुमारी विक, उमाशङ्कर अरगरिया, विन्दा पाण्डे, खगराज अधिकारी, प्रेम सुवाल, बालकृष्ण खाँड, महेश्वर गहतराज, देवेन्द्रराज कँडेल, मानबहादुर विश्वकर्मा, तेजुलाल चौधरी, अमरेशकुमार सिंह, सरिता गिरी, शरत्सिंह भण्डारी, रामबहादुर विष्ट, विमला नेपाली, दुर्गाकुमारी विश्वकर्मा, दीलेन्द्रप्रसाद बडू, मीनेन्द्र रिजाल, गोपालबहादुर बमलगायतले घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका थिए।
जफावमा गृहमन्त्री थापाले सरकार मुलुकमा कानुनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताए। उनले सरकारले गठन गरेको छानबिन समितिले जतिसक्दो छिटो सत्यतथ्य सार्वजनिक गर्ने बताए।



















