भारतलाई प्रधानमन्त्री ओलीको प्रश्‍न : सत्यमेव जयते कि सिंहमेव जयते ?

वेलकम खबर
जेष्ठ ६, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको सधैं जित हुने भन्दै भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि फिर्ता गर्ने प्रतिबद्धता दोहोऱ्याएका हुन् । उनले अतिक्रमित भूमि फिर्ता गर्न परिस्थिति जटिल हुने लक्षण देखिए पनि जसरी पनि नेपाली भूमि फिर्ता गरिने प्रतिबद्धता गरेका हुन् ।

उनले भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग पनि उप्काएका छन् । ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने प्रधानमन्त्रीले बताए ।

‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’

त्यस्तै प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रलाई भारतले अतिक्रमण गरेर विवादित बनाएको बताए । ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*