भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९५ हजार नाघ्यो
काठमाडौँ। भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी पाँच हजार नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। यो सँगै सङ्क्रमित हुनेको सङ्ख्या ९५ हजार ६९८ पुगेको छ। जसमा आइतबार मात्र ५ हजार ५० नयाँ सङ्क्रमित थपिएको हो। त्यस्तै हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार २५ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट १५४ को मृत्यु भएको छ।
सङ्क्रमितमध्ये ३६ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। भने अहिले ५५ हजार ८ सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भारतमा कोरोना सङ्क्रमण बढ्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ। भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मे सम्म जारी राख्ने निर्णय गरेको छ।



















