नागढुङ्गामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने युवा पक्राउ
काठमाडौँ। काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा स्वास्थकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेको छन्। पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की रहेका छन्। उत्तमले वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई शुक्रबार नागढुङ्गामा दुर्व्यवहार गरेका थिए। उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो।
यसरी स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको र आवश्यक कारबाही गरिने गृहमन्त्रालयले जनाएको थियो। गृहकै निर्देशनमा ती युवालाई पक्राउ गरिएको हो। कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको बताइएको छ।



















