लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नक्सा सार्वजनिक गरिने
काठमाडौं : नेपाल सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई समेटेर नक्सा सार्वजनिक गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ नक्सा सार्वजनिक हुने बताएकी हुन् ।
‘लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको भूमी हो’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसलाई प्राप्त गर्न ठोस कदम चालिने छ । तद अनुसार नै छुटेको भूमि कायम गरी नेपालको नक्सा सार्वजनिक गरिने छ ।’
कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको रहेको भन्दै सरकारले भारतलाई पटक–पटक कूटनीतिक नोट दिइसकेको छ। भारतले पनि त्यस क्षेत्रलाई विवादित क्षेत्र भन्दै वार्ताबाटै सल्टाउने बताइरहेका बेला नेपालको अर्को छिमेकी चीन जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ।



















