राज्यव्यवस्था समितिको निर्देशन- ‘परीक्षण बढाऊ, लकडाउन खुकुलो बनाऊ’

वेलकम खबर
बैशाख २९, २०७७

समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गर्न र लकडाउनलाई क्रमश खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ।

आजको बैठकमा समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्ड अनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

त्यस्तै किसानहरूलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजार सम्म पुर्‍याउन सहज बनाउन समेत समितिको निर्देशन छ।

विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरुलाई संक्रमण नियन्त्रण सम्बन्धी विश्वव्यापी मापदण्ड अनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्‍ठले बताइन्।

विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि प्रधानमन्त्री स्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी गराएका छन्।

गृहमन्त्री रामबहादुर थापाले भारतीय सीमा पारी करीब २१ सय नेपालीहरू क्वारेन्टाइनमा रहेको बताए।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरुको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण गरिएको बताए।

पछिल्लो केही दिनयता पीसीआर प्रविधिबाट गरीने परीक्षणलाई पनि बढाइएको मन्त्री ढकालले जानकारी गराएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*