संसदमा सरकारको पक्षमा दृढताका साथ प्रस्तुत हुन सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

वेलकम खबर
बैशाख २६, २०७७

काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुलाई सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको पक्षमा उभिन लिखित निर्देशन दिनुभएको छ ।

संघीय संसदको दुवै सदनको बैठक सुरु हुनुअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रतिनिधिसभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभामा दलका नेता दीननाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीले लिखित निर्देशन जारी गर्नुभएको हो ।

नीति तथा कार्यक्रम र बजेटको पक्षमा विगतमा झैं दृढ भएर समर्थन गर्न प्रधानमन्त्री ओलीले लिखित निर्देशन जारी गर्नुभएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले बताउनु भयो । आज अपरान्ह ४ बजेदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने तय भएको छ भने संबैधानिक ब्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्नुहुनेछ ।

अधिवेशन सुरु हुनअघि नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसहित दलका पदाधिकारीसँगको बेठकपछि यस्तो निर्देशन दिनुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*