संसद बैठकअघि नेकपा अध्यक्ष प्रचण्डसहितका नेता बालुवाटारमा, ओली–प्रचण्डको छुट्टै वार्ता
काठमाडौं । संसद बैठक सुरु हुनुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु बालुवाटार पुगेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित महासचिव विष्णु पौडेल, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, लगायतका नेताहरु बालुवाटार पुगेर छलफल गरेका हुन् ।
संसद बैठक सुरु हुनुअघि संसदीय दलको बैठक बस्ने परम्परा अनुसार नेताहरु बालुवटार पुगेर छलफल गरेका हुन् । नेकपाको संसदीय दलका नेता प्रधानमन्त्री केपी ओली हुन् ।
‘कोरोनाका कारण डिस्टेन्स कायम गर्नुपर्ने भएकाले औपचारिक रुपमा संसदीय दलको बैठक बस्न सकेन । त्यही भएर बालुवाटारमै छलफल भएको हो’, उपनेता नेम्वाङले रातोपाटीलाई बताए । त्यसक्रममा दलका नेताले बजेट अधिबेशनमा आफ्ना दलका सांसदहरुलाई संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिएको नेम्वाङले बताए । ‘संसदमा प्रभावकारी ढंगले उपस्थित हुन र सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नदलको नेताले आग्रह गर्नुभयो’, नेम्वागले बताए ।
यसअघि स्थायी समिति बोलाउनुपर्ने नेताहरुको माग अनुुसार दुई अध्यक्षले सल्लाह गरेर बैठक बोलाउने अध्यक्ष प्रचण्डले बताएका थिए ।



















