आजदेखि संसदमा बजेट अधिवेशन
काठमाण्डौ । संसदको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ।बजेट अधिवेशन बैठक अपराह्न ४ बजे संसदमा बोलाइएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको संयुक्त बैठकमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सम्पूर्ण तयारी पूरा गरिएको सचिवालयले जनाएको छ। यसका लागि सामाजिक दूरी कायम गरी सांसदहरुलाई बस्ने व्यवस्था गरिएको छ।
त्यसो बैठकमा सहभागी हुन सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएरमात्र संसद भवनमा प्रवेश पाउनेछन्। त्यसका लागि हिजो बिहीबार नै उनीहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो। तर रिपोर्ट आइनसकेको सचिवालयले जनाएको छ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि संचालन भएका विभिन्न अभियान तथा राहात वितरण कार्यक्रममा सांसदहरु गाउँगाउँ पुगिरहेका छन्। आफ्नो मतदातासँग सम्पर्कमा रहेका सांसदहरुको स्वास्थ्य समेत जोखिममा रहेको निश्कर्ष निकाल्दै बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले संसद बैठकभित्र पस्नुअघि सांसदहरुले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने निर्णय गरेको थियो ।
यस्तै कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन शुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ। यसले कोरोनाको जोखिम न्यूनिकरण हुने दाबी गरिएको छ।



















