कोरोना लडाई जितेर मानव समाजको रक्षाको लागि पर्यटन मन्त्री भट्टराईको शुभकामना
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५६४ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै बुद्ध जयन्तीका महत्वपूर्ण दिनले कोरोनाभाइरस (कोभिड–१९) को महामारी बिरुद्धको लडाई जितेर मानव समाजको रक्षा गर्ने शक्ति हामीलाई प्रदान गरोस भन्ने शुभकामना दिनु भएको छ ।
विहीबार शुभकामना मन्तव्य जारी गर्दै मन्त्री भट्टराई जारी गदै भिक्षु, भिक्षुणी, लामा गुरुहरु तथा गुरुमाहरुको उपस्थितिमा भौतिक दुरी कायम गर्दै दीप प्रज्ज्वलन तथा परित्राण पाठ एंव बुद्ध पूजाका साथ मनाउन आग्रह गर्नुभयो ।
उहाँले जारी गर्नु भएको शुभकामना मन्तब्यमा ‘सबै गुरु, गुरुमाहरु तथा उपासक, उपासिकाहरुले आ–आफ्नो स्थानमा बुद्ध, धर्म र संघको गुणस्मरणका साथ सामाजिक दुरी कायम गरी बुद्ध जयन्ती मनाउन हुन हार्दिक अनुरोध गर्दछु,’ मन्तव्यमा लेखिएको छ ।
सम्पूर्ण मानव जगतको कल्याण गर्न बुद्धले गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको ज्ञान लाई सबैले आत्मसाथ गर्न सके जुनसुकै कठिन परिस्थितीको सामाना पनि सहजै गर्न सक्ने उनको भनाई छ । भगवान बुद्धको पावन जन्मभुमी लुम्बिनी नेपालको मात्रै नभई विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरुको लागि आस्थाको केन्द्र हो । हरेक बौद्ध धर्मावलम्बी र अहिंसाप्रेमीहरुको चाहना हुन्छ, ‘जीन्दगीमा एकपटक भएपनि लुम्बिनी आएर पवित्रता प्राप्त गर्ने ।’ वास्तवमा उहाँहरुको चाहना हाम्रो गर्वको बिषय त हुदै हो, हाम्रो समृद्धिको आधार पनि हो भन्नु भएको छ ।
मन्तब्य
२५६४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईज्यूको शुभकामना मन्तव्य ः
आज विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६४ औं जन्मजयन्ती !
यो पावन असवरमा विश्वभरका बौद्धमार्गी एंव शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विश्वशान्तिका अग्रदुत गौतमबुद्ध बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् आजकै दिन पवित्रभूमि लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका जन्मिनु भएको थियो । नेपाली भूमिमा जन्मिएर विश्वलाई देखाउनु भएको सत्य, शान्ति र अहिंसाको दर्शनले नेपाली हुनुको गौरवलाई झनै उचोे बनाइदिएको छ ।
सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो । ‘दुःख छ, दुःखको कारण छ र दुःख निवारण गर्न सकिन्छ दुःख निवारणका मार्ग छन्’ भन्ने बुद्धका विचारहरुलाई आत्मसात गरेर शान्ति र समतामुलक समृद्ध समाज निर्माणको बाटोमा प्रतिबद्ध भएर लाग्नु नै आजको आवश्यकता हो ।
भगवान बुद्धको पावन जन्मभुमी लुम्बिनी नेपालको मात्रै नभई विश्वभरका बौद्ध धर्मावलम्बी र शान्तिप्रेमीहरुको लागि आस्थाको केन्द्र हो । हरेक बौद्ध धर्मावलम्बी र अहिंसाप्रेमीहरुको चाहना हुन्छ, ‘जीन्दगीमा एकपटक भएपनि लुम्बिनी आएर पवित्रता प्राप्त गर्ने ।’ वास्तवमा उहाँहरुको चाहना हाम्रो गर्वको बिषय त हुदै हो, हाम्रो समृद्धिको आधार पनि हो ।
अस्थाको पवित्र केन्द्र, शान्तिप्रेमीहरुको साझा ज्ञानभूमी लुम्बिनीलाई हामीले पर्यटनसँग पनि जोडिरेहका छौं । जोड्नपर्छ । लुम्बिनीलाई बौद्ध दर्शन र शिक्षाको विशाल अन्तराष्ट्रिय केन्द्रविन्दु बनाएर यसको महत्वलाई उचो र फराकिलो बनाउनु आजको आवश्यकता हो । हाम्रो प्रयास त्यसै तर्फ केन्द्रीत छ ।
यसको निम्ती विगत ४० वर्षदेखि कार्यान्वयनमा रहेको लुम्बिनी गुरुयोजना आगामी २ वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ लुम्बिनी विकास कोषले काम गरिरहेको छ । लुम्बिनी विकास कोषले लुम्बिनीको मात्र विकास गरेर पुग्दैन त्यसकारण समग्र बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत रहेका तिलौराकोट, धमनीहवा, कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा, सिसहनीया, देवदह तथा रामग्राम क्षेत्रको विकास साथसाथै आगाडि बढाउनु पर्नेछ ।
शाक्य राजबंशको प्राचीन दरबार क्षेत्र रहेको तिलौराकोटलाई आगामी ३ वर्षभित्र यूनेस्को विश्व सम्पदा सूचिमा सूचिकृत गरिनेछ । रामग्राम स्तुप क्षेत्रको व्यवस्थित विकास गर्न गुरुयोजना निर्माण गर्ने कार्य सम्पन्न भएको छ । आगामी २ वर्षभित्र बृहत्तर लुम्बिनी क्षेत्रमा रहेका सबै बौद्ध स्थलहरुको गुरुयोजना निर्माण गरी व्यवस्थित भौतिक एवम् अध्यात्मिक विकासको नयाँ चरणमा प्रवेश गरिनेछ । त्यसैगरी कपिलवस्तु र देवदह क्षेत्रका विभिन्न प्राचिन सम्पदाहरुको अन्वेषण, उत्खनन तथा संरक्षण गर्ने कार्य तीव्रताका साथ अगाडि बढाइनेछ । लुम्बिनी आउने पर्यटक, तीर्थयात्रीहरुको चापलाई मध्यनजर गर्दै भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थलको काम पनि आगामी २०२० मा सम्पन्न गर्ने लक्ष्यकासाथ अघि बढाइएको छ ।
बृहत्तर लुम्विनी क्षेत्र सर्वोत्कृष्ट बौद्ध तीर्थस्थल हो भन्ने तथ्यलाई विश्वसामु स्थापित गर्न नेपाल सरकारबाट लुम्बिनी, नेपाल ः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नाराका साथ बुद्ध जयन्तीको अवसर पारेर विगत वर्षहरुमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरु आयोजना गरिंदै आएकोमा यस वर्ष पनि २५६४ औं बुद्ध जयन्तीको अवसर पारेर तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भव्यताका साथ आयोजना गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ कार्तिक २० गतेको निर्णयानुसार आयोजक समिति गठन गरी कार्यक्रमको तीब्र तयारी हुँदै गर्दा विश्व कोरोनाभाइरस (कोभिड–१९) को महामारीको भूमरीमा फस्यो ।
यो ‘विश्वव्यापी महामारी’बाट नेपाल पनि अछुतो रहन सकेन । यतिखेर विश्व ठुलो संकटको अवस्थाबाट छ । यस प्रकारको त्रासदीबाट मानव समाजले आफूलाई असुरक्षित महसुस गरेको इतिहासमा यो पहिलो पटक हो । यो बेला मानव समाज नै ठुलो त्रासदी र अनिश्चितताको पीडादायी अवस्थाबाट गुज्रिरहेको छ ।
यस महामारीलाई न्यूनिकरण गर्न तथा जोखिम कम गर्न नेपाल लगायत अधिकांश देश लकडाउनको अवस्थामा रहेको हुनाले यो वर्षको बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका सबै कार्यक्रमहरु स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भयो । २५६४ औ बुद्ध जयन्ती एंव लुम्बिनी दिवस भव्यरुपमा मनाउन सम्भव भएन ।
तसर्थ बुद्ध जयन्ती सीमित बौद्ध भिक्षु, भिक्षुणी, लामा गुरुहरु तथा गुरुमाहरुको उपस्थितिमा भौतिक दुरी कायम गर्दै दीप प्रज्ज्वलन तथा परित्राण पाठ एंव बुद्ध पूजाका साथ मनाइने छ । अन्य सबै गुरुरगुरुमाहरु तथा उपासक, उपासिकाहरुले आ–आफ्नो स्थानमा बुद्ध, धर्म र संघको गुणस्मरणका साथ बुद्ध जयन्ती मनाउन हुन समेत हार्दिक अनुरोध गर्दछु ।
बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले कोरोनाभाइरस (कोभिड–१९) को महामारी बिरुद्धको लडाई जितेर मानव समाजको रक्षा गर्ने शक्ति हामीलाई प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । यो अवसरमा म भन्न चहान्छु, ७० हजार वर्षको मानव समाजको गौरवमय इतिहासमा हाम्रा पूर्वजहरुले यस्ता अनेकौ महामारीसँग जुधेर नै मानव समाजलाई यो अवस्थासम्म ल्याई पु¥याउनु भएको हो । अहिले हामीले पनि कठिनतम् दिनहरुको सामना गरिरहेका छौं । हामीलाई विश्वास छ, यो पीडादायी अवस्थाबाट विश्व र हाम्रो मुलुक छिट्टै मुक्त हुनेछौं । हामी खुसीहरु छिट्टै फर्किनेछन् । र, हामी नयाँ उत्साह, उमंग र उर्जाको साथमा नयाँ र उज्यालो बाटोमा हिड्नेछौं । तबसम्मको लागि घरमै सुरक्षित बस्नका लागि म अपिल समेत गर्दछु ।
अन्तमा ः ‘विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट आफ्नो अमूल्य ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँहरुको परिवारजनमा समवेदना र संक्रमित भएर उपचारत सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
धन्यवाद !



















