बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश, साँझ घर-घरमा दीप प्रज्वलन गर्न आग्रह (भिडियोसहित)
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक भइरहेको उल्लेख गरेका छन्। बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै उनले विश्व शान्तिको चाहनामा तड्पिरहेको समयमा बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक भएको उल्लेख गरेका हुन्। ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्ध लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मान सँगै सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका छन्।
यस्तो छ उनको शुभकामना सन्देश
२५ बैशाख २०७७
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु!
आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन। एकै दिन र एकै तिथिमा परेको हुनाले सबै हिसाबले हामी यस दिनलाई संक्षिप्तमा बुद्ध जयन्ती भनेर मनाउँछौं। संयुक्त राष्ट्र संघले विश्व शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्मान–स्मृति र उहाँका शान्तिका सन्देशहरुको कदर गर्दै आजको दिनलाई वैशाख दिवस का रुपमा मनाउने गरेको छ। वैशाख डे जसरी धुमधामसँग विश्वव्यापी रुपमा मनाइने गरिन्थ्यो, विश्वस्तरमा सम्मेलन गरेर मनाउने गरिन्थ्यो, यस वर्ष कोरोना भाइरसको महामारीले त्यस रुपमा मनाउन सकिने अवस्था रहेन। फेरि पनि यस अवसरमा म महामानव, जसलाई मानव जातिले भगवान बुद्धका रुपमा मान्ने गरेको छ, उहाँप्रति अत्यन्तै आदर, सम्मान र श्रद्धासुमन अर्पण गर्न चाहन्छु।
आज विश्व शान्तिको चाहनामा तड्पिरहेको छ र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेका छन्। हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भए। म उनीहरुप्रति अत्यन्तै संवेदनशील भावका साथ श्रद्धासुमन अर्पण गर्न चाहन्छु। आज कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पु¥याएको छ। संक्रमितहरुको संख्या बढ्दो छ र त्यसबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढ्दो छ। यस दुःखद घडीमा म कोरोेना भाइरसबाट आफ्नो अमूल्य जीवन गुमाउने सबैप्रति श्रद्धासुमन अर्पण गर्न चाहन्छु। र, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन। तर, भयावह हुनसक्ने लक्षणहरु छन्। यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ। त्यसकारण हामी सजग हुनु जरुरी छ।
यस घडीमा म गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं भन्ने आग्रहका साथ दिंवगतहरुप्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थयकर्मीहरु, स्वयंसेवीहरु र यस कार्यमा सहयोगी हातहरु बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन आजको दिन आआफ्ना संस्थाहरु र आआफ्ना घरहरु, निवासहरुमा दीप प्रज्वलन गर्न र शान्तिको कामना गर्न ७ बजे दीप प्रज्वलनका लागि म सबै दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आग्रह र अनुरोध गर्दछु।
धन्यवाद!



















