जुम एपले बनायो एरिकलाई अर्बपति
एजेन्सी। जुम एपका संस्थापक एरिक युआन अर्बपति भएका छन्। उनलाई फोब्र्स पत्रिकाले आफ्नो अर्बपतिको सूचीमा समेटेको छ। उनको सम्पत्ति ७.८ अर्ब अमेरिकी डलर भएको फोर्ब्स पत्रिकाले जनाएको छ। माइनिङ इन्जिनियरका छोरा एरिक चीनमा जन्मिएका हुन्। त्यहाँ इन्जिनियरिङको पढाइ सकेर जापानमा चार वर्ष रोजगार गरे पछि उनी त्यहाँबाट अमेरिका पुगेका थिए।
सन् २०११ मा एरिकले सिस्कोका एक अधिकारीलाई एउटा यस्तो भिडियो कन्फ्रेन्सिङ एप डाउनलोड गर्ने सुझाव दिएका थिए। जुन एपले डेस्कटपमा मात्र होइन मोबाइलमा पनि काम गरोस्। तर, सिस्कोले यसलाई खारेज गरिदिएको थियो। त्यसैले उनले आफ्नो बिजनेस जुम एप सुरु गर्नका लागि कम्पनीबाट राजीनामा दिएका थिए।
उनले आफ्नी गर्लफ्रेन्डसँग भेट्नका लागि १० घन्टाको रेल समात्नु पर्ने भएकाले जुम एपको कल्पना गरेका थिए। उनले यही एपको कल्पना गरे जसले उनले चाहेको समयमा नै आफ्नी गर्लफ्रेन्ड भेटाउन मदत गर्यो। त्यही सपनालाई लिएर बनाएको जुम एप अहिले विश्वले प्रयोग गरिरहेको छ। यसबाट मिटिङहरू भएका छन्। मानिसहरूले अनलाइन कक्षासमेत लिएका छन्। पछिल्लो समय रजिस्टर गर्न नपर्ने र ४० मिनेटसम्म १०० जना एकैपटक जोडिन सक्ने भएकाले जुम एपको लोकप्रियता बढेको हो।
पछिल्लो समय नेपालमा पनि अनलाइन कक्षाहरू सुरु गर्ने चर्चा सँगै जुम एपको पनि लोकप्रियता नेपालमा बढ्न थालेको छ। त्यसका लागि विद्यालयहरूले जुम एप डाउनलोड गर्न सम्पूर्णका अभिभावकहरूमा आग्रह गरिरहेको छ।



















