एनआरएनए भन्छ : २० मुलुकमा कोरोना संक्रमणबाट ११ सय बढी गैरआवासीय नेपाली संक्रमित, ४ मुलुकमा २८ को मृत्यु,
कोरोना भाइरसबाट मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएन) को संख्या शनिबार साँझसम्म २८ पुगेको छ । यो तथ्यांक गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविड–१९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको हो ।
संघले हालसम्म कोरोना संक्रमणबाट बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा २ र आयरल्याण्डमा १ जनाको ज्यान गएको जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार १ सय ३५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो तथ्यांकअनुसार नेपालसहित २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।
गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका मुलुकहरुमा अमेरिका (७ सय), बेलायत (२ सय), युएई (७१), बहराइन (४९), आयरल्याण्ड (२२), पोर्चुगल (२२), कुवेत (२१), अष्ट्रेलिया (११), स्पेन (१०), स्वीट्जरल्याण्ड (५), बेल्जियम (४), जर्मनी (४), साउदी अरब (४ं), क्यानाडा (३), मलेसिया (३), माल्टा (२), फ्रान्स (१), जापान (१), म्यानमार (१), चीन–हङकङ (१) रहेका छन् ।
समितिका अनुसार विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ–सँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई यो तथ्यांक तयार पारिएको हो ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार (४ वैशाख) साँझसम्म दुई दर्जनभन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पिडितको लागि संघले राहत वितरण गरेको छ ।
यसैबीच गैरआवासीय नेपाली (एनआरएन) ‘कोविड– १९’ उच्चस्तरीय समितिको बैठक आइतबार बस्दैछ । संघका महासचिब डा हेमराज शर्माका अनुसार बैठकले कोरोना पीडितहरुका लागि राहत वितरणको लागि नयाँ नीति तय गर्नेछ ।नयाँपत्रिकाबाट



















